काठमाडौं । जारी टी(२० विश्वकपमा जितको खाता खेल्न आतुर नेपालले आज इटलीसँग १० विकेटको नमिठो हार चाखेको छ । चार दिनअघि ईंग्ल्यान्डविरुद्ध गरेको प्रदर्शनलाई सम्झिने हो भने यो पूर्णरुपमा अनपेक्षित नतिजा हो ।
दुईपटकको विश्व विजेता ईंग्ल्यान्डलाई आच्छुआच्छु बनाएको नेपाल आज विश्वकपको नवप्रवेशी राष्ट्रसँग निरीह बन्यो । क्रिकेटमा यदाकदा उलटफेर नतिजाहरु आउँछन् । तर, आज नेपालले जसरी आत्मसमर्पण गर्यो, त्यसले नेपाली क्रिकेटका समर्थकहरूलाई निराश बनाएको छ ।
ईंग्ल्यान्डविरुद्धको प्रदर्शनपछि सारा क्रिकेट जगतले नेपालको गुणगान गाइरहेको थियो । उक्त खेलयता सबैभन्दा बढी चर्चा नै नेपाली टिमको भइरहेको थियो भन्दा फरक नपर्ला । त्यही प्रदर्शनका कारण आज नेपालको खेललाई क्रिकेट जगतबाट चासोपूर्वक हेरिएको थियो ।
ईंटलीविरुद्ध सहज जितको आशा थियो । तर, सोचेभन्दा उल्टो भयो । यस्तो लागिरहेको थियो, नेपाल इटलीसँग होइन, अष्ट्रेलियाको शक्तिशाली टिमसँग भिडिरहेको छ ।
क्रिकेटमा खेलाडीहरूको प्रदर्शन उनीहरूको प्रतिभा र क्षमता मात्रैले निर्धारण गर्दैन । यसलाई धेरै बाह्य तत्त्वहरूले प्रभावित पार्छन् । त्यसमध्ये एउटा प्रमुख तत्त्व हो, पीच र कन्डिसन । रंगशाला उही भए पनि ईंग्ल्यान्डविरुद्ध खेलेको पीच र आज खेलेको पीच एउटै थिएन ।
आजको पीच नेपालको ब्याटिङका लागि अनुकूल थिएन भन्ने मान्न सकिन्छ । साथै, आज नेपालले टस हार्नु पनि दुर्भाग्यपूर्ण रह्यो । पहिलोभन्दा दोस्रो इनिङमा ब्याटिङ सहज बनेको महसुस गरिएको छ । नेपालले कम्तीमा १५० रन बनाएको भए खेल प्रतिस्पर्धात्मक बन्न सक्थ्यो । तर, नेपाल १२३ रनको मामुली स्कोरमा खुम्चियो ।
इटलीले टस जितेर नेपाललाई पहिले ब्याटिङमा निम्त्यायो । नेपाली ब्याटरहरुले सुरुबाटै सहज महसुस गरेनन् । प्राय स्वच्छन्द तवरले ब्याट चलाउन रुचाउने ओपनर कुशल भुर्तेल १० बलमा ५ रन मात्रै हानेर आउट भए । तेस्रो नम्बरमा आएका कप्तान रोहित कुमार पौडेलले आशालाग्दो ब्याटिङ गरेका थिए । उनले आसिफ शेखसँग साझेदारी गरिरहँदा नेपालको स्कोर १७० सम्म पुग्नसक्ने आँकलन थियो । तर, ठूलो सट प्रहार गर्ने चक्करमा रोहित आउट भएसँगै नेपालको डाउनफल सुरु भयो । उनले १४ बलमा दुई छक्कासहित २३ रन जोडेका थिए ।
रोहितले भनेजस्तै आज उनको विकेट नै नेपालको टर्निङ प्वाइन्ट थियो । उनी आउट भएपश्चात् दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले नेपालको इनिङ पुनर्निर्माण गर्ने कोसिस गरेका थिए । यो जोडीले क्रिजमा हुँदासम्म नेपालको अवस्था सन्तोषजनक नै थियो । तर १३।५ ओभरमा दीपेन्द्रले विकेट गुमाएसँगै नेपालको ब्याटिङ कोल्याप्स भयो । एक समय ९३ रनमा तीन विकेटको अवस्थामा रहेको नेपालले थप ३० रन जोड्दा सबै विकेट गुमाउन पुग्यो । अघिल्लो म्याचमा चम्केका लोकेश बमले आज निराश बनाए भने भरपर्दा ब्याट्सम्यान गुल्शन झा लगातार दोस्रो म्याचमा फ्लप भए । करण केसीले ११ बलमा १९ रन हान्दै नेपाललाई जेनतेन १२० को स्कोर पार गराएका थिए ।
नेपाली ब्याटरहरु तुलनात्मकरुपमा फास्ट बलभन्दा स्पिनरलाई राम्रो खेल्न सक्छन् । तर, आजको म्याचमा नेपालले स्पिनसँग घुँडा टेक्यो । इटलीले नेपालविरुद्ध तीन स्पिनरलाई चार–चार ओभर बलिङ गराएको थियो । उनीहरूले ६ विकेट आपसमा बाँडे । अष्ट्रेलियन मूलका दायाँ हाते अफ स्पिनर बेन मनेटीलाई नेपाली ब्याटरहरुले झेल्नै सकेनन् । उनले चार ओभर बलिङ गर्दा केवल ९ रन खर्चेर २ विकेट लिए । मनेटीले नेपाली ब्याटरहरुलाई यसरी नचाए मानौँ, उनी शेन वार्नकै नयाँ अवतार बनेर आएका हुन् । श्रीलंकन मूलका लेग स्पिनर क्रिसन कुलुगामगे पनि मुथैया मुरलीधरनजस्तै देखिए, जसले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे ।
नेपाली ब्याटरले इटलीका दुई फास्ट बलर अली हसन र ग्रान्ट स्टेबर्टका ६ ओभरमा ६६ रन लिएका थिए । जबकि तीन स्पिनरको १२ ओभरबाट केवल ४९ रन जोड्न सके । यो आँकडाबाट पिचले स्पिनरलाई सहयोग गरेको बुझ्न सकिन्छ । तर नेपाली स्पिनर भने यही पिचमा चलेनन् ।
इटलीको बलिङबाट शिक्षा लिएर कप्तान रोहितले दोस्रो ओभरबाटै स्पिनर चलाए । तर, न फास्ट बलर न स्पिनर कसैले पनि इटलीका ओपनरलाई दबाबमा राख्न सकेनन् । रोहितले एकपछि अर्को बलर परिवर्तन गरे, तर कसैबाट पनि विकेट निस्किएन । बरु रनको बौछार भइरह्यो । नेपालका दुई विशेषज्ञ स्पिनर ललित राजवंशी र सन्दीप लामिछाने नै अनपेक्षितरुपमा सर्वाधिक महँगा बने । सन्दीपले ३ ओभरमा ३१ रन खाए । उच्च फर्ममा रहेका सन्दीप नेपालको ‘अन्तिम आशा’ थिए । उनी नै नचलेपछि नेपालको बलिङ आक्रमण लथालिङ्ग बन्यो । अर्का स्पिनर ललितले एक ओभरमै १९ रन खर्चिएपछि कप्तानले फेरि बलिङमा उतारेनन् । बरु पार्ट टाइम स्पिनरहरू दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले तुलनात्मकरुपमा कसिलो बलिङ गरेका थिए ।
नेपाल प्रमुख फास्ट बलर करण केसी पनि पहिलो ओभरबाटै पिटिए । उनले २ ओभरमा २१ रन खाए । अघिल्लो म्याचमा पनि उनको बलिङ फिक्का बनेको थियो भने आजको प्रदर्शनपछि उनले अर्को म्याचमा मौका पाउन कठिन देखिएको छ । सम्भवतः नेपालले वेस्ट इन्डिजविरुद्ध सोमपाल कामीलाई प्लेइङ ११ मा ल्याउने छ । ईंग्ल्यान्डविरुद्ध राम्रो बलिङ गरेका नन्दन यादवले आज १ ओभरमात्रै बलिङ गर्न पाए र १२ रन खर्च गरे ।
पालले दिएको कमजोर लक्ष्य भेदन गर्न इटलीका ओपनर जोडी नै पर्याप्त रहे । अष्ट्रेलियन मूलका दाजुभाइ जस्टिन मोस्का र एन्थोनी मोस्काले नेपाली बलरहरूको धज्जी उडाउँदै १२।४ ओभरमै इटलीलाई ऐतिहासिक जित दिलाए । दाजुभाइबीच अंशबण्डा गरे जसरी उनीहरूले रन आपसमा बाँडेका थिए । भाइभन्दा दाइले बढी निर्दयी आक्रमण गरे । दाइ एन्थोनीले केवल ३२ बलमा ६ छक्का र तीन चौका सहित ६२ रन जोडेका थिए । भाइ जस्टिनले ४४ बलमा ३ छक्का र ५ चौकासहित ६० रन बनाए । दाजुभाइ मिलेर नेपाललाई आफ्नो विश्वकपको इतिहासकै सर्वाधिक ठूलो हार चखाए ।
१० विकेटको हार आफैँमा लज्जास्पद हो । मुम्बईको वाङ्खडे रंगशालामा खचाखच रहेका नेपाली समर्थक र टेलिभिजनबाट लाइभ हेरिरहेका करोडौँ दर्शकले यस्तो प्रदर्शनको आशा विल्कुलै गरेका थिएनन् ।
आजको हारसँगै नेपालको सुपर ८ पुग्ने लक्ष्य कोमामा पुगिसकेको छ । यद्यपि, अझै दुई खेल बाँकी छन् । नेपाली टिमले आफूलाई पुनर्जागरण गर्दै बाँकी खेलहरूमा आफ्नो वास्तविक क्षमता देखाउनुपर्ने छ । नेपालले यो स्तरमा भिड्ने मौका विरलै पाउने गर्छ । पाएको मौका सदुपयोग हुन सकेन भने फेरि हामी पछि धकेलिन्छौँ । ईंग्ल्यान्डविरुद्ध देखाएको खेल ‘कागताली’ मात्र थिएन भनेर नेपाली टिमले प्रमाणित गर्नुपर्ने चुनौती उत्पन्न भएको छ ।
नेपालले अर्को म्याच वेस्ट इन्डिजसँग १५ फेब्रुअरीमा खेल्दैछ । आजको नतिजा बिर्सेर तथा ईंग्ल्यान्डविरुद्धको म्याचबाट प्रेरणा लिएर नेपाली टिम ‘रि ग्रुप’ हुनु अत्यावश्यक छ । वेस्ट इन्डिजविरुद्ध ‘उलटफेर’ नतिजा निकाल्न सके फेरि एक पटक नेपाली टिमले लाइमलाइट पाउन सक्छ । र, यो कुनै असम्भव कुरा होइन ।