चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका ६ वटा समूहलाई स्टार्टअप विजेनसका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग रहने गरी विद्यार्थीका ६ वटा समूहलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म बीउ पूँजी प्रदान गरिएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, वन संकाय तथा आंगिक कलेजमा अध्ययनरत विद्यार्थीहरुको ३ देखि ५ जनासम्मको समूह बनाएर नवीनतम् व्यवसाय गर्नका लागि सो रकम प्रदान गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा।डा।ज्ञानबहादुर थापा, कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपति प्रा।डा। शारदा थपलिया, रजिष्ट्रार प्रा।डा।पुष्करबहादुर पाल लगायत तीन बटा संकायका डीनहरुको उपस्थितीमा विद्यार्थी समूहलाई बीउ पुँजी रकम प्रदान गरिएको विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा।डा। निराजन भट्टराईले जानकारी दिए ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा।डा।ज्ञानबहादुर थापा विश्वविद्यालयहरू रोजगारी खोज्ने मात्रै जनशक्ति उत्पादन गर्ने गरेको आरोप लागिरहेको सन्दर्भमा कृषि विश्वविद्यालयले अरूलाई रोजगारी प्रदान गर्न सक्ने दक्ष र व्यवसायिक जनशक्ति उत्पादन गरेकोमा खुसी व्यक्त गरे ।