काठमाडौँ। नेकपा (एमाले)की सांसद गंगादेवी श्रेष्ठले सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डको जिम्मेवारी लिँदै प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेकी छन्।
संसदमा बोल्दै सांसद श्रेष्ठले कप्तानगञ्ज घटनामा राज्य पक्षबाट गोली चलेको विषयलाई लिएर वर्तमान सरकारको कडा आलोचना गरेकी हुन्। उनले उक्त घटनाको सम्पूर्ण दोष र जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्।
“सुनसरी घटनाको दोषी यो सरकारको प्रधानमन्त्री र गृहमन्त्री हुने कि नहुने? यो घटनाको जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीको तत्काल राजीनामा माग गर्दछु,” श्रेष्ठले भनिन्।
आफ्नो धारणा राख्ने क्रममा उनले विगतका राजनीतिक घटनाक्रमलाई समेत स्मरण गराइन्। २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा राज्यको भौतिक धरोहर जोगाउने क्रममा गोली चल्दा तत्कालीन सरकारलाई ‘हत्यारा’ भनिएको प्रसङ्ग उल्लेख गर्दै उनले अहिलेको सुनसरी घटनाको जिम्मा वर्तमान सरकारले लिनुपर्ने तर्क गरिन्।
साथै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा वर्तमान प्रधानमन्त्री शाहले विगतमा सामाजिक सञ्जालमा लेखेको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले कडा प्रश्न समेत गरिन्।
विगतमा तत्कालीन प्रधानमन्त्री ओलीलाई ‘बच्चाको रगत पिएको’ आरोप लगाउँदै वर्तमान प्रधानमन्त्रीले सामाजिक सञ्जालमा स्टाटस लेखेको स्मरण गराउँदै सांसद श्रेष्ठले प्रश्न गरिन्, “अहिले सुनसरीमा युवाको रगत पिउनुभयो भनेर भन्ने कि नभन्ने?”